लगानी सम्मेलनबाट आशा जगाउँछौंः अर्थमन्त्री पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा हालसम्म प्रवाहित लगानीबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल लगानी सम्मेलन २०२४ को पूर्वसन्ध्यामा सम्पादकहरूसँग आयोजित संवाद कार्यक्रममा नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतसमेतका लगानी सम्मेलनहरूको अनुभवबाट प्रतिबद्धता भएअनुसार लगानी नआउने देखिएको भन्दै यो लगानी सम्मेलनबाट लगानी भित्रने अपेक्षा गरिएको बताए ।

“विगतका दुई वटा लगानी सम्मेलनका अनुभवहरूलाई हेरेर अहिले हामीले राम्रो गर्ने प्रयास गर्दैछौं,” लगानी बोर्ड नेपालका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पुन‌ले भने, ” “१५ वर्षयताका प्रविधि र विकास क्रमहरूलाई हामी आफ्ना लगानीसम्बन्धी नीतिहरूमा समायाेजन गरेर लैजाने छौं ।”

अर्थमन्त्री पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याइएको समेत प्रष्ट पारे ।   लगानीको वातावरण बनाउन लागि सोमबार नै अध्यादेशबाट विभिन्न लगानीसम्बन्धी कानुन संशोधन गर्ने निर्णय गरेको अर्थमन्त्री पुनले जानकारी दिए ।

उनले लगानी सम्मेलनको उद्‌घाटनदेखि समापनसम्म सबै राजनीतिक दलहरूदेखि सबै सरोकारवालाहरूको सहभागिता रहने प्रष्ट पारे ।

कार्यक्रममा लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत सुशील भट्ट, बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय, रमेश अधिकारी लगायतले लगानी सम्मेलन तयारीका विभिन्न‌ पक्षबारे जानकारी दिएका थिए ।