विद्युत आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्णः राष्ट्रपति पाैडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्वपूर्ण रहेको बताए ।

राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।

“सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ”, उनले भने । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आव्हान गरे ।

ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताए । “आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकाक्षी जस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो”, उनले भने ।

लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक चाडोभन्दाचाडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । “आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूणर् भुमिका खेलिरहेको र दक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन,” उनले भने ।

उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ ।

विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान सरकारसँग आग्रह गरे । जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूणर् सहयोग पुगिरहेको छ । आयोजाना प्रवद्र्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको बताए ।

समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरू भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।