नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ हुँदै, ७ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ आयोजना गर्ने भएको छ ।

महासंघले ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ वैशाख २६ गतेदेखि ३० गते सम्म महोत्सव भृकुटीमण्डपमा आयोजना हुने भएको छ । महासंघका अनुसार यस प्रदर्शनीको मुख्य उद्देश्य मुलुकभरका उद्यमीद्धारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने रहेको छ ।

एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु महासंघले आयोजना गर्दै आएको छ।

विगत केही बर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस बर्ष “नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ को नाममा आयोजना हुन लागेको महासंघले जनाएको छ ।

महासंघका अनुसार यसपटकको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला पनि संचालन हुनेछ । मेलामा उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई समावेश गरी विटु वि, बिटु सी, बिटु जी व्यापारको बारेमा अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने महासंघले जनाएको छ ।

महासँघका अनुसार नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लि. सँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ । प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने रु ७ करोड भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

यस मेलामा काठ/दुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, बेतवाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिनेछ ।