सीजी फुड्समा भएको घटनाप्रति सीएनआईको ध्यानाकर्षण


काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघ सीएनआईले ध्यानाकर्षण भएको जनाएको छ।

सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय रहेको सीएनआईले जनाएको हो।

‘देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघ माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

हालको विषम परिस्थितिमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रिने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने सीएनआईले जनाएको छ।

सीएनआईले भनेको छ, ‘यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ।’