एटिएस ब्राण्डको टाइल नेपाली बजारमा, विदेश निर्यातकाे लक्ष्य


काठमाडाैँ । पशुपती सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स् परिक्षण बिक्रिबितरण सुरु गरेको छ ।

सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्यसम्पूर्ण पूर्वतयारीको कार्य पुरा गरेर कम्पनीले आफ्ना उत्पादनहरू बजारमा ल्याएको हो ।

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित एटिएस टाइल्सले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गरेको छ ।

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००x४०० मिमिको पार्किङ्ग टाइल र ६००x६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको छ ।

छिट्टै क्रमश ३००x४५० को वाल टाइल र ६००x१२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० बर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारित कारखाना स्थापना गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छाैँ,” कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने , “यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।”

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे ।

अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा वार्षिकरुपमा नेपालबाट बाहिरिरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने रौनियारको भनाई थियो ।

उनले भने,“ भविष्यमै हाम्रा उत्पादनहरू बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छाैँ ।”

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ ।

‘टाइल्स् फर यभ्री यज ट्याग’लाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ ।