काठमाडौँ । गत शुक्रबार नवलपरासीको रामग्रामस्थित हुन्डाई मोटर एसेम्बली प्लान्ट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक पाँच हजार गाडी एसेम्बल गर्न सक्ने हुन्डाईको एसेम्बली प्लान्ट उद्घाटन गरेका छन् ।
योसँगै कम्पनीले हुन्डाई भेन्युको एस भेरियन्ट यही प्लान्टमा उत्पादन गरी सफल परीक्षण समेत गरेको छ । कम्पनीले नेपाली बजारमा एक हप्ताभित्रै नेपालमै बनेको भेन्यु सार्वजनिक गर्दै छ । भेन्युको सफलतासँगै एक वर्षभित्र २ वटा मोडल बजारमा ल्याउने योजना समेत बनाएको कम्पनीले जनाएको छ ।
करिब १० बिगाहमा फैलिएको हुन्डाईको प्लान्टमा वार्षिक एक सिफ्टमा काम गर्दा पाँच हजार वटा गाडी एसेम्बल गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाईको सो प्लान्टमा पहिलो चरणमा २ सय र दोस्रो चरणमा ५ सय जनाले राेजगारी पाउन सकिने बताइएको छ ।
कम्पनीका अनुसार सब एसेम्बल युनिटबाट मुख्य एसेम्बल युनिटमा ११ सय पार्टपुर्जा जडान गरिएकाे छ । पार्ट्स जडान, परीक्षणबाट प्रतिघण्टा ३ वटा गाडी उत्पादन गर्न सकिन्छ। नेपालमै गाडी उत्पादन गर्न सकिनेबारे अध्ययनपछि कम्पनीले करिब डेढ वर्षको अवधिमा एसेम्बली प्लान्ट स्थापना गरेको हो ।
कम्पनीका अनुसार कुनै पनि सवारी साधन उत्पादन गर्नका लागि पाँच चरण पुरा गर्नुपर्छ । ती पाँच चरण मध्ये पहिलो चरण प्रेस सप अर्थात स्ट्याम्पिङ, दोस्रो चरण बडी सप अर्थात वेल्डिङ र तेस्रो चरण पेन्ट सप हो । पहिलो चरणमा स्ट्याम्पिङ गरेर आवश्यक पार्ट्स तयार गरे पछि त्यसलाई जोड्ने अर्थात वेल्डिङ कार्य गरिन्छ । त्यसैगरी तेस्रो चरणमा पेन्ट सप अर्थात पेन्टिङ कार्य गरिन्छ । पेन्टिङको लागि पनि छुट्टै क्षेत्रफल छुट्याएको कम्पनीले जनाएको छ ।
चौथो चरणमा एसेम्बली सप र पाँचौ चरणमा टेस्ट लाइन कार्य हुन्छ । नेपालमा हाल यही चौथो र पाँचौ चरणको कार्य हुने गरेको छ । कोरिया र भारतमा पहिलो तीन चरण पार गरेर ल्याइएका इन्जिन, बडी र विभिन्न पार्ट्सलाई एसेम्बल गर्ने र अन्तिममा टेस्ट गर्ने कार्य यहाँ हुने गरेको छ ।
कम्पनीले सवारी साधन उत्पादन कार्य सुरू गरे पनि यहाँबाट उत्पादित सवारी साधनको मूल्य भने कति पर्छ भन्ने विषयमा खुलाएको छैन । छिटै सार्वजनिक गर्ने समेत जनाएको छ ।
हाल नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्युको बेस मोडलको मूल्य ४० लाख ९६ हजार रुपैयाँ छ । नेपाल सरकारले पनि एसेम्बल प्लान्ट स्थापना गर्ने कम्पनीलाई ५० प्रतिशत अन्तःशुल्कमा छुट दिएको छ । सवारीमा केही मूल्य छुट हुने आँकलन राख्न सकिन्छ ।
नेपालमा हुन्डाईको एसेम्बली प्लान्ट दाेस्राे गाडि उत्पादन गर्ने प्लान्ट बनेकाे छ । वि.सं २०७० अघिसम्म हुलास ग्रुपले नेपालमै गाडीहरू एसेम्बल गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चढेको मुस्ताङ म्याक्स नेपालकै उत्पादन थियो ।
कस्मिक यिङयाङ र अन्ना लिफान् ब्रान्डको बाइकको पनि एसेम्बल नेपालमा भएको थियो । तर विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि एसेम्बल प्लान्टहरू बन्द हुन पुगेका थिए । हाल नेपालमा बजाज र टीभीएसजस्ता बाइकको एसेम्बल भइरहे पनि चार पांग्रे सवारीसाधनका लागि भने त्यस्तो कम्पनी अहिलेको अवस्थामा भने थिएन् ।
नेपालमा हुन्डाइ गाडि उत्पादन गरिरहेकाे लक्ष्मी माेटर कर्पाेरेसनका लागि प्लान्ट सञ्चालन अवसर र चुनाैति दुबैका रूपमा हेरिएकाे छ। विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने अर्काे चुनाैती पनि रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्