काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गरे ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । उक्त कार्यक्रम सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत सञ्चालन हुने समझदारीपत्रमा उल्लेख छ । परियोजनाको संयोजन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालका अनुसार पोखरा महानगरपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । परियोजनाको लक्ष्य नगरपालिकाको क्षमता अभिवृद्धि, सूक्ष्म, साना तथा मझौला उद्यम प्रवर्द्धन गरी दिगो विकास लक्ष्य हासिल गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
महानगर क्षेत्रभित्रका घरहरुबाट निस्कने अव्यवस्थित फोहोरको पुनः प्रयोग तथा फोहोरमा आधारित उद्योगहरुलाई आर्थिक र प्राविधिक सहयोग गर्नुका साथै बजारसँगको पहुँच वृद्धिका लागि उक्त रकम खर्च गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्