लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग परिसंघको छलफल


काठमाडौँ । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङ्गबिच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा आज (बुधवार) भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देशबिचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५० ‍औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताए ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरीयाली लगानीकर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङ्गलाई आग्रह गरे ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताए ।

दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गरे ।

राजदूत पार्क टेइ योङ्गले परिसंघले संचालन गरेको ‘मेक इन नेपाल’ स्वदेशी अभियानको प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताए ।

राजदूत तइयोङ्गले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनेति तथा इमान्दार रहेको बताए । उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्त गरे ।