नेपालको वैदेशिक व्यापार घट्यो, व्यापार घाटा ११ खर्ब ७७ अर्ब रूपैयाँ


काठमाडौँ । नेपालको वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को वैशाखसम्मको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको देखिएको हो ।

यो अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । नेपालको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले घटेको हो ।

नेपालको निर्यात भने ३.६१ प्रतिशतले घटेको छ । नेपालले वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

वैशाखसम्म नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबर रहेको छ ।