शीर्ष नेताको बैठकपछि कांग्रेसले भन्यो: छलफल सकारात्मक भयो


काठमाडाैँ । सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शिर्ष नेताहरूको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शिर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा सहकारी प्रकरणमा संसदीय छानविन बनाएर संसदमा प्रमुख प्रतिपक्ष दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । त्यस्तै नेपाली काँग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउ परेको सन्दर्भमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उनले बताए ।

उनले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर नेपाली काँग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले कुनै व्यक्ति र संस्थाको विषय भन्दापनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानविन हुनेकुरा मुख्य भएको भन्दै भाषा र शैली मिलाउन सकिने धारणा राखे ।