ओलीप्रति बालेनको आक्रोश : १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरी जनता नझुक्काउनु


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको भन्दै आपत्ति जनाएका हुन् ।

मेयर बालेनले लेखेका छन् ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ “भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

नि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’