आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै


काठमाडौँ। आज जुन ७ तारिख । विश्वभर विभिन्न कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ ।

नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा “खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं” नाराका सात सप्ताहव्यापी रुपमा दिवस मनाइएको छ ।

सप्ताहव्यापी दिवसको आज बिहान प्रभातफेरी र मुल समारोह आयोजना गरेर मनाइँदै छ भने देशभरी नै विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न कार्यक्रम दिवस मनाइदैछ ।

खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन संघिय संसदले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको सन्दर्भमा यो वर्ष यस क्षेत्रका सरोकारवालाले दिवसलाई खास महत्वकासाथ मनाउँदैछन्।

ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृंखलाका सबै चरणमा बैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानूनी व्यवस्था गरेको छ।

ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित खाद्य व्यवसायी, सरकारी एवं गैर सरकारी संघसस्था, उपभोक्ता हकहितसंग सम्वन्धित संघसस्था, खाद्य तथा पोषणसंग सम्वन्धित संघसस्था, आम सन्चार माध्यम लगायतका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले बताइन् ।