नाडा सदस्य र गभर्नरबिच भेट, अटोमोबाइल क्षेत्रका समस्याहरूबारे छलफल


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आगामी आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको विषयमा छलफल गरेको छ।

(हिजाे) बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको हो। उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोबाइल क्षेत्रलाई माथी ल्याउन आवश्यक रहेका नीतिहरूमा सुधार ल्याउन आग्रह गरे।

विशेषगरि लोन टू भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पुर्‍याउन आग्रह गर्दै यस्तो व्यवस्था भएमामात्र अटोमोवाइल व्यवसाय गतिशील हुने भएकोले यसलाई आउदो मोद्रिक नीतिबाटै सम्बोधन गर्न आग्रह गरेका हुन्।

त्यसैगरी उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने उल्लेख गरे। अर्थात घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नका लागि आग्रह गरे।

यसै क्रममा चौधरीले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने भन्दै कालो सूचीमा परेका व्यक्ती वा कम्पनीमाथीको कारबाही ज्यादै फितलो भइरहेकाले यस सम्बन्धी नियमहरुलाई थप कडा र प्रभावकारी बनाउन आग्रहसमेत गरे।

छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालबाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामानसमेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरुको बिक्रीमा ठूलो असर परिरहेको बताउँदै नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगहरूको प्रशस्त सम्भावना भएकाले यस्तो उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा राखेका थिए।

महासचिव उप्रेतीले आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट निम्नानुसारको ७ बुँदे लिखित सुझावहरु समेत प्रस्तुत गरेका थिए ।नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन सुरक्षासँग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरू मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राखेका थिए ।

नाडाबाट प्रस्तुत सुझावहरूका विषयमा प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजस्व आउने गरेको भन्दै अटोमोबाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए।

यसैक्रममा अधिकारीले अटोमोबाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको उल्लेख गरे।