साउनबाटै ऋण उठाए पनि सरकारको खातामा साढे तीन अर्ब रुपैयाँमात्र


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दिनबाटै आन्तरिक ऋण उठाएर खर्च चलाउन थालेको सरकारको खाता (ट्रेजरी अकाउन्ट)मा खर्चयोग्य रकम साढे तीन अर्ब रुपैयाँमात्र रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा सरकारको खातामा जम्मा ३ अर्ब ५५ करोड रुपैयाँमात्र रहेको पाइएको हो।

राष्ट्र बैंकले महालेखा नियन्त्रकको कार्यालयको विवरण उद्धृत गरे अनुसार वैशाख मसान्तसम्म सरकारले १० खर्ब ५६ अर्ब ८९ लाख रुपैयाँ खर्च गरेकोमा ८ खर्ब ३१ अर्ब रुपैयाँमात्र राजस्व उठाएको छ। यद्यपि राष्ट्र बैंकको ट्रेजरी अकाउन्ट हिसाबअनुसार भने वैशाख मसान्तसम्म १० खर्ब १६ अर्ब ५६ करोड रुपैयाँमात्र खर्च गर्न सकेको छ।

यस अवधिमा ८ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ राजस्व असुल भएकोमा संघीय राजस्व संकलन ७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँमात्र छ। राष्ट्र बैंकले आयात नियन्त्रणका कारण व्यापक राजस्व घटेको गत वर्षको औसतसँग दाँजेर १०.६२ प्रतिशतले राजस्व संकलन बढेको बताए पनि सामान्य अवस्थाको आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनाभन्दा ९.५८ प्रतिशतले राजस्व असुली घटेको छ।

उठेको राजस्वले खर्च नधानेपछि सरकारले वैशाख मसान्तसम्म १ खर्ब ९९ अर्ब ८९ लाख रुपैयाँ आन्तरिक उठाएको छ। यस अवधिमा ४९ अर्ब २२ करोड रुपैयाँमात्र बाह्य ऋण प्राप्ति भएको छ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरुको खर्च नभएको ५२ अर्ब, स्थानीय तहको १ खर्ब ७१ अर्बसहित सरकारको ट्रेजरी खातामा २ खर्ब ७३ अर्ब रुपैयाँ नगद देखिन्छ। यसमध्ये गत वर्षको खर्च नभएको पैसा ६५ अर्ब ३६ करोड रुपैयाँ हो ।