कांग्रेस सांसदको आरोप: महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियो


काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उनले महिला मन्त्रालयको पाएको १ अर्ब ६० करोडको बजेटमा सबै सुनसरी मात्रै देखिएको बताएका हुन् । उनले सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको बताए ।

सांसद केसीले सामाजिक सुरक्षा भत्ता दिने असहाय, अशक्तलगायत गरिबलाई मात्रै दिने कार्यविधि बनाउन सके १ खर्ब १६ अर्बको आधा घट्न सक्ने बताए । उनले सामाजिक सुरक्षा भत्ता असाहय र दुःखीलाई दिने भए पनि काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको बताए ।

सांसद केसीले विश्वमा महिलाले नेतृत्व गरेका निकायमा समावेशी र राम्रा काम गरेको उदाहरण भए पनि नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम नगरेको बताए । उनले महिला मन्त्रीले आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिने काम गरेको आरोप लगाए ।