सरकारले रुग्ण उद्योग सञ्चालन गर्न ध्यान केन्द्रित गर्नुपर्दछः दिलेन्द्रप्रसाद बडू


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।

आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग संचालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पु¥याएको उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकुपुर चुरोट कारखानालगायतका रुग्न उद्योग संचालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यकता आंैल्याए ।

बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसद बडूले रुग्ण उद्योगहरुको तथ्यांक संकलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने बताए ।

उनले रुग्ण उद्योग सञ्चालनका लागि छुट्टै कार्यक्रम नल्याएको पनि सरकारप्रति आक्रोश पनि व्यक्त गरे । सांसद बडूले रुग्न उद्योग सञ्चालनका लागि आफूले सो मन्त्रालयकाे नेतृत्व लिएको बेला तयार पारेको सञ्चालन प्रश्तावलाई सरकारले पूँजीको रुपमा लिएर अघि बढाउन सक्ने बताए ।

सांसद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमा राम्रा नारा दिएपनि त्यसलाई अघि बढाउने खालको बजेटको व्यवस्था हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।