आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री


काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन्।

शनिवारबाट ललितपुरमा शुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताएका हुन्।

उनले नेपालका लागि आइटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको बताए। अर्थमन्त्री १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि जनाए।

काठमाडौँमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरु हेरिसकिएको पनि उनले जनाए । उनले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने जानकारी उनले जानकारी दिए ।

अर्थमन्त्री पुनले भने, “काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु तत्काल स्थापना गर्ने सरकारको तर्फबाट र तीन वर्षलाई हामी कुनै पनि शुल्क नलिएर खासगरी ठूलो उद्यमको रुपमा विकास गरिसकेका साथीहरु अघि बढ्नुहुन्छ । तर नयाँ स्टार्टअपहरुलाई पनि प्रोत्साहन गर्ने रुपले जानेछौँ ।”

अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको उनले बताए।

—न्युज एजेन्सी नेपाल