सुनकोशी गाउँपालिका: पोलिहाउस निर्माणमा ९ लाख ९६ हजार रुपैयाँ अनियमितता


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले पोलिहाउस निर्माणमा अनियमितता गरेको पाइएको छ ।

महालेखा परिक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार पालिकाले पोहिहाउस निर्माणमा ९ लाख ९६ हजार ८७९ रुपैयाँ अनिमियत गरेको हो ।

विगतमा अनुदान सुविधा नलिएका, आर्थिक तथा सामाजिकरुपले विपन्न तथा कृषि पेसा गर्न चाहने नयाँ परिवार छनोट नगरी पालिकाले पोलि हाउस निर्माण गरेकाे हाे । पालिकाले सक्षम व्यक्तिलाई अनुदान दिएको भन्दै सक्षम व्यक्तिलाई अनुदान दिने कार्य उपयुक्त नदेखिएको महालेखाले उल्लेख गरेको छ ।

पालिकाले वडा नम्बर ७ कार्यालयलाई पत्र लेखेर ९ जना कृषक छनोट गरी पठाउनको लागि लेखेको पत्रमा हाल ३ ओटा टनेल भएको व्यक्तिहरु हुनुपर्ने मापदण्ड निर्धारण गरेर पोलि हाउस निर्माण गरिएको हाेृ ।

मापदण्ड निर्धारण अनुसार वडा कार्यालयको सिफारिस अनुसार ९ ओटा टनेल बनाएकोमा लागत अनुमान बनाउँदा लागत अनुमान लिएको आधार स्पष्ट नभएको, ९ ठाउँमा बन्ने टनेलको एकमुष्ट लागत अनुमान, नापी मुल्याङ्कन तथा कार्यसम्पन्न बनाएको महालेखाले उल्लेख गरेको छ ।

साथै लागत अनुमानकै दरमा समावेश हुने ढुवानीको लागि मुल्य अभिवृद्धि कर समेत ३० हजार ५१० ढुवानी खर्च राखेको तथा सामान बुझिलिने व्यक्तिसँग कवुलियत गराएको नदेखिएको महालेखाले जनाएको छ ।

महालेखाले लागत अनुमानमा थप ढुवानी दिएको ३० हजार ५१० असुल हुनुपर्ने साथै स्पष्ट मापदण्ड बेगर तथा सक्षम व्यक्तिलाई अनुदान दिने कार्य उपयुक्त नदेखिएको उल्लेख गरेको छ ।

पोलिहाउस निर्माण कार्यमा कार्यक्रमको ८५ प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लागत साझेदारी रहने गरी लागत अनुमान ९९ हजार रुपैयाँ तयार गरी ९ ओटा पोलिहाउस निर्माण कार्य निर्माण व्यवसायी मार्फत गराई ९ लाख ९६ हजार ८७९ रुपैयाँ खर्च पालिकाले लेखेको छ ।