क्रसर व्यवसायीहरूको आन्दोलनमा पुगेर मेटमणिले भनेः सरकार कुर्सी जोगाउने काममा मात्रै लाग्याे


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूको आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ ।

बिहीवार माईतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरूको आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यवद्धता जनाएका हुन्।

सो क्रममा उनले पार्टीले क्रसर व्यवसायीहरूको आन्दोलनलाई महत्वपूर्ण आन्दोलनका रुपमा लिएको र पार्टीको आन्दोलनप्रति ऐक्यवद्धता रहेको बताए । उनले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए ।

आन्दोलनका क्रममा आफ्ना धारणा राख्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरूका माग तत्काल सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

उनले आफ्ना मागहरू चाँडो भन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “सरकारले हाम्रा माग सम्बोधन छिटो गर्नुपर्छ । यसले राज्यको नै क्षति हुनेछ । सरकारले चाँडो भन्दा चाँडो माग सम्बोधन गरोस् ।”

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई बेवास्था गरेको असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।