सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरुको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले बनाउने हरेक कानूनहरू उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने बताएका हुन् ।

उनले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानून संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताउँदै समितिले सिमेन्ट उद्योगले उत्पादित खनिज परिणाम तौल पुलमा मापन गर्न समितिको म्याद थप मान्न तयार रहेको उल्लेख गरे ।

उनले मुलुकमा भएका सिमेन्ट उद्योगलाई थप माथि उठाउन आवश्यक रहेको भन्दै त्यसको लागि उद्योगको पक्षमा कानून निर्माण गर्न आवश्यक रहेको बताए ।