चित्रबहादुर केसीको आरोप: सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइएको हो


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् ।

सोमवार काठमाडौँमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताए ।

उनले राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताउँदै नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाए ।

“एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईंहरूले खाइ नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरूले नै लुेटका छन् । तपाईंहरूसँग आएर जति पनि मिठा कुरा गरेपनि आन्दोलन बेगर यिनीहरू डराउनेवाला छैनन्,” उनले भने ।