राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दा प्रभावकारी काम हुन्छः प्रधानमन्त्री दाहाल


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राजस्व संकलन गर्ने निकायले नै राजश्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम हुन नसक्ने भन्दै माथिल्लो निकायबाट अनुसन्धान हुनुपर्ने देखिएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राखिएको बताए ।

उनले सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य गर्न सहज हुने उल्लेख गरे ।

सम्पती शुद्धिकरण निवारण र सुशासनको पाटोमा अन्तर्राष्ट्रिय चासो पनि हुने भन्दै हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम हुन सक्ने उनकाे भनाइ छ । 

प्रधानमन्त्री दाहालले सबै मन्त्रालयको बजेट सन्तुलित बनाउने कोसिस भएको बताए । उनले हुन्डी कारोबार रोक्न सरकारले केही प्रभावकारी कदम चाल्न लागेको पनि जानकारी दिए।