आइपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ।

बुक विल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन हुनेछ ।

न्युनतम ५० कित्ता शेयरको लागि आवेदन गर्नुपर्ने हुँदा कम्पनीको आईपीओ भर्नको लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने हुन्छ ।

उक्त विधि अनुसार आईपीओ निष्कासन गर्दा हुँदा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्छ भने शेयर बाँडफाँट गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँट गर्नैपर्छ ।

गत वर्ष पुस १९ गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालले यो कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता आईपीओ बिक्री गर्न अनुमति दिएका थिए ।