अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँः सभामुख घिमिरे


काठमाडाैँ । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताए ।

उनले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे।

नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने उनकाे भनाइ छ ।

उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए । शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे । 

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए। अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने उनकाे भनाइ छ ।