सरकारले निजी क्षेत्रलाई दुःख दिँदैनः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाएका छन्।

शुक्रवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए ।

अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताए ।

उनले अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरूको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताए । उनले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौति रहेको बताए ।