आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी


काठमाडाैँ । बंगलादेशमा आरक्षण कोटाको बिरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

आइतवार बिहान उनीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिवारदेखि नै कफ्र्यू आदेश जारी गरेको छ । बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ ।

बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरू एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् । उनले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताइन् । त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरूकै छेउछाउमा मानिसहरू मरिरहेको जानकारी पाएपछि आफूहरू त्रस्त बनेको बताए । उनीहरूले आफूहरूलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए ।

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।