माओवादीलाई गिरीको प्रश्न: उद्योगीहरूसँग विद्युत् महसुल किन असुली गरिएन ?


काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नियम बमोजिम उद्योगीहरूले पनि विद्युत महशुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र) ले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले माओवादी केन्द्रका सांसदहरूले उद्योगी व्यवसायीहरूसँग लेनदेन गरेर विद्युत महशुल तिर्न नपर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएजस्तो गरी आम जनतामा भ्रम छर्ने खालो अभिव्यक्ति दिएको जिकिर गर्दै आक्रोश व्यक्त गरेका हुन् ।

सांसद गिरीले विगत ८\१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत महशुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गरे । उनले केही आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाईनको महशुलमा बार्गेनिङ गरेर माओवादी केन्द्रले उद्योगीहरूमाथि अनुचित लाभ लिन खोजेको पनि विगतमा देखिएको आरोप लगाए ।

उनले भने, “आज हामीले उत्पादन गरेको विद्युतले बजार नपाउने अवस्था छ । अर्कोतिर विद्युत नपाएर केही उद्योगीहरूले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्दछ ? त्यसकारण यो समस्याको तत्काल समाधान गर्नुपर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले भन्नु भयो । त्यस विषयलाई लिएर सम्माननीय सभामुख महोदय आज जुन किसिमको प्रमुख प्रतिपक्ष दलका माननीयहरूले कोकोहोलो मच्चाउनु भयो ।”

सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिक सबै उद्योगीहरूसँग विद्युत महशुल लिने पनि बताए।