प्रधानमन्त्रीसमक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलबार निर्देशन दिने


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् ।

आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् ।

जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिने काम गर्नुभएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।

मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुती गर्ने काम सकिएको र साउन १५ गते (मंगलवार) प्रधानमन्त्रीले मन्त्रालयहरूलाई आवश्यक निर्देशन दिने मन्त्री यादवको भनाइ थियो ।

बैठकमा विकासे मन्त्रालयका सचिवहरूले ठेकदारहरूको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिएभने केहीले संविधानसँग बाझिएका कानूनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए ।

मन्त्री यादवले सचिवहरूले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलवार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए ।

प्रधानमन्त्री ओलीले बोलाएकाे सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, सबै सुरक्षा अंगका प्रमुखहरूकाे पनि उपस्थिति रहेको थियो ।