वैदेशिक रोजगार बचतपत्रमा विदेशमा रहेका नेपालीहरुको आकर्षण देखिएनः राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गर्ने वैदेशिक रोजगार बचतपत्रमा विदेशमा रहेका नेपालीहरुको आकर्षण नदेखिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपायको बारेमा गरेको अध्ययनले वैदेशिक रोजगार बचतपत्रमा विदेशमा रहेका नेपालीहरुको आकर्षण नदेखिएको उल्लेख गरिएको छ ।

पछिल्ला वर्षहरुमा बचतपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रचार–प्रसार बढाउँदै रोजगारीमा पठाउने निकाय र कुटनीतिक नियोगहरुलाई समेत बचतपत्र प्रवद्र्घनका लागि परिचालन गरेपनि आकर्षण नदेखिएको जनाएको छ ।

राष्ट्र बैंकले यसको अध्ययन गर्नु मुख्य उदेश्य आगामी वर्षहरुमा वैदेशिक रोजगार बचतपत्रको परिचालनबाट आन्तरिक ऋणमा योगदान बढाउन विद्यमान समस्या पहिचान गर्दै प्रवद्र्घनका उपायहरु सुझाउने हो ।

राष्ट्र बैंकले पहिलोमा, वैदेशिक रोजगारबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, दोस्रोमा, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई बचतपत्रबारे जानकारी भए÷नभएको वा अभिमुखीकरण तालिममा यस्तो जानकारी गराउने गरे÷नगरेको सम्बन्धमा टेलिफोन सर्वेक्षण र तेस्रोमा, बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त बिक्री एजेण्टहरुसँग बचतपत्रको बिक्री पहल लगायतको स्थिति विश्लेषण गर्न इमेल सर्वेक्षण गरेको थियो ।