भ्रामक समाचारप्रति नेपाल डेरी एसोसिएसनको ध्यानाकर्षण


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले ग्यालेक्सी खबर टिभीले प्रसारण गरेको दुध सम्बन्धी भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

ग्यालेक्सी खबर टिभीले प्रसारण गरेको दुध सम्बन्धी नकारात्मक टिप्पणीले जनमानसमा भ्रम फैलाउने प्रयास गरेको भन्दै ध्यानाकर्षण गराएकाे हाे ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनालले एक विज्ञप्ती जारी गर्दै दुध किसानको गोठमा उत्पादन भई उपभोक्ताको ओठसम्म पुग्दा धेरै तह पार गर्ने भएकाले यसमा कुनै पनि मिसावाट नभएकाले उक्त समाचार स्वार्थ राखी प्रकाशित भएकाे बताए ।

समय समयमा, यस्तो संवेदनशील विषयमा नबुझी, निहित स्वार्थ राखी अनावश्यक रूपमा चर्चाका मिडिया र सामाजिक सञ्जालमा बिना प्रमाणका विषयहरू राख्दा समाजमा नकारात्मक सन्देश गएकाे एसाेसिएसनले जनाएकाे छ ।

एसोसिएसनले आम उपभोक्ता, मिडियाकर्मी, र सरोकारवालालाई विश्वास दिलाउँदै भनेको छ,”नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्धपदार्थमा अखाद्य मिसावट छैन र नक्कली दूध पनि यहाँ उत्पादन हुँदैन।”

एसोसिएसनले, यदि कोही कसैले कहीँ गलत प्रक्रिया गरेको पाएमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न आग्रह गरेको छ। यस्तै एसोसिएसनले आम उपभोक्तालाई भ्रममा नपरी नियमित दूध तथा दुग्ध पदार्थ निर्धक्कसँग उपभोग गर्न आग्रह गरेको छ।