सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता छ: अर्थमन्त्री पाैडेल


काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता रहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले सहकारी क्षेत्रमा नियामक निकायको अनुभुत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताए ।

“यसपटकको मौद्रिक नीतिको सन्दर्भमा म के भन्न चाहन्छु भने गभर्नरले, राष्ट्रबैंकले मुलुकमा जे प्रकारको समस्या देखिएको छ, अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, ति समस्याहरूलाई सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सिमा भित्रबाट समाधान गर्ने सम्बन्धमा आवश्यक मात्रामा लचिलो हुनु जरुरी थियो । एक हदसम्म लचिलो भएको छ,”उनले भने।

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रूपमा निर्देशन दिएको बताए ।

उनले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताए । उनले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको जानकारी दिए ।