विद्युत प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् ।

शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका छन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उल्लेख गरे ।

उनले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताए । उनले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको दाबी गरे । उनले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको भन्दै महालेखापरीक्षकले गरेको अडिट गलत नभएको उल्लेख गरे ।

उनले आर्थिक वर्ष २०७२\७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यस यता भने विगत फर्केर हेर्नु नपरेको उल्लेख गरे । कार्यकारी निर्देशक घिसिङकाअनुसार आर्थिक वर्ष ०७३\७४ मा १ अर्ब ५० करोड रुपैँया खुद नाफा कमाउँदै प्राधिरणले सुरू गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए ।

उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताए । उनले यसअवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको उनको भनाइ छ ।