आँपको बगैंचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेपछि किसान बिरोधमा


काठमाडाैँ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीयहरू बिरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको हो ।

५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको अवस्थामा स्थानीयहरुले बिरोध जनाएका हुन् । उक्त कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले त्यहाँ कुनै सिंचाई आयोजना नरहेको भन्दै ती जग्गा सिंचाईयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । जन्दादेवी सोलार प्रा.लि.ले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडाध्यक्ष महतो बताउछन् । उनकाअनुसार वर्षेनी यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ । 

आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिको जग्गा दिन सहमत भएको बताउँछन् ।

स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताए । रामउदागरले यो जन्दादेवी प्रा.लि.ले पछि गएर के गर्छ थाहा नभएको तर अहिले आफूहरुको आश्रय आँप रहेकाले आँपको बगैँचा फडानी गर्न नदिने अडान लिए ।सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने बताउँदै आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने चेतावनी दिए ।

अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताए । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडी बढाउन सकिने बताए । 

यी दुई स्थानीयभन्दा पृथक विचार स्थानीय किसान रामखेलावन महतोको छ । उनकाअनुसार आँप खेतीबाट खासै आम्दानी नहुने गरेकाले आफूहरू सम्झौता गर्न तयार भएका छन् ।

जल्दादेवी सोलार प्रा.लि.ले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेको उनीहरूको भनाइ छ।