शेयर बजार ७०.८१ अंकले वृद्धि, कारोबार रकममा रेकर्ड ब्रेक


काठमाडाैँ । शेयर बजार कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ । नेपाली पुँजीबजारमा पछिल्लो दिनहरूमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ ।

आइतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको छ । आइतवारको शेयर बजार कारोबारमा २५ अर्ब २७ करोडको कारोबार भएकोमा सोमवार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो ।

सोमवार शेयर बजार मापक नेप्सेको कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७०।८१ अंकले बढेर २९३१।६५ बिन्दुमा पुगेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० बिन्दुभन्दा माथि पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.५६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका ३३९ कम्प्नीको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड बराबरको कारोबार भएको छ ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउनुको साथै सोमबार ३० महिनायताकै नेप्से परिसूचक पनि माथि पुगेको हो । सोमवार कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सोमवार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक ५.८५ प्रतिशत बढेको छ भने वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशत,विकास बैंकको ३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले बढेको छ ।

शेयर बजारले कारोबार रकममा रेकर्ड राख्दा ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तर कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ सोमवार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सले १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।