निजी क्षेत्रको भुमिका संकुचित हुने गरी सरकारले कानूनहरू बनाइरहेको छः अध्यक्ष ढकाल


काठमाडाैँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भुमिका संकुचित बनाउने गरी सरकारले कानूनहरू बनिरहेको गुनासो गरेका छन् ।

आइतवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो गुनासो गरेका हुन् । अध्यक्ष ढकालले निजिक्षेत्रसँग सम्बन्धित कानूनहरु बनाउँदा सरकारले निजीक्षेत्रको भुमिका र लगानी संकुचित गर्न खाजेको उल्लेख गरे ।

उनले सरकारले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नेगरी ऐन कानूनहरू बनाउन जरुरी रहेको बताए । अध्यक्ष ढकालले महासंघले सरकारी निकायहरुमा गरिरहेको प्रतिनिधित्व घटाउने काम भइरहेको पनि गुनासो गरे । उनले धितोपत्र बोर्ड लगायतका संस्थाहरुमा आईक्यान र महासंघलाई सदस्यबाट हटाउने कानून ल्याउनु जायज नभएको बताए ।

उनले करिव डेढ दर्जन निजी क्षेत्र संवद्ध कानूनहरु संघीय संसदमा छलफलमा रहेका कानूनहरु हुबहु पास भए अर्थतन्त्रमा नै समस्या पर्ने धारणा राखे । राष्ट्रिय सभाले पास गरेको अख्तियार अनुसन्धान आयोग सम्बन्धित विधेयकलार्ई लिन सकिने भन्दै अख्तियार निजी क्षेत्रमा प्रवेश गराउन नहुने बताए ।

उनले नेपालको बैंकिङ क्षेत्र सुरक्षित र दरिलो रहेको भन्दै सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताए । उनले सरकारले कर्जा दुरुपयोग रोक्नुपर्ने तर लगानीकर्तालाई निषेध र नियन्त्रण गर्न नहुने बताए ।