भृकुटीमण्डप प्रदर्शनी हलको दयनीय स्थिति (फाेटाे फिचर)


काठमाडौँ । संघीय राजधानी काठमाडौँको भृकुटीमण्डपमा रहेको अन्तराष्ट्रिय प्रर्दशनी हल मर्मतमा वेवास्ताले गर्दा जिर्ण अवस्थामा पुगेकाे छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबादेखि सुरू हुने ‘नाडा अटो शो २०२४’ को तयारी तीव्र रूपमा चलेको प्रर्दशनी हलभित्र माथिबाट पानी चुहिँदा ४० लाखसम्म खर्चिएर डेकाेरेशनले स्टल सजाउदै गरेका ठूला ब्राण्ड प्रतिनिधी संशङ्कित देखिन थाले ।

डिजिटल बाेर्ड र अन्य लाइटहरू सजाउने इलेक्ट्रिसियन विद्युत सर्ट हुने जाेखिम माेलेर काम गरिरहे । चार पाङ्ग्रे सवारीकाे मुख्य आकर्षण मूख्य प्रर्दशनी हलकाे यस्ताे दर्दनाक अवस्थाले मेला आयाेजना र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू समेत खुसी देखिदैनन् । टिनमुनी लगाइएकाे जिप्सन दजर्नाै स्थानमा फ्रेम मात्र बाँकी छ भने केहि स्थानमा खस्ने अवस्थामा पुगेका छन् । कतै टेन्टकाे कपडाले टिन छाेपिएकाे छ भने लाइटहरू यत्रतत्र झुण्डिएका छन् ।

उत्तरमा प्रदर्शनी मार्ग, पूर्वमा टुकुचा नदी, पश्चिममा भद्रकाली जाने बाटो र दक्षिणमा नेसनल ट्रेडिङ सीमा रहेको २ सय १४ रोपनीकाे भृकुटीमण्डप वि.सं. २०२२ सालमा औद्योगिक प्रदर्शनी स्थलका रूपमा स्थापना गरिएको हो ।

सरकारले वि.सं. २०३७ सालमा तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (अहिले समाज कल्याण परिषद्) लाई भोगचलन र संरक्षणको हक हस्तान्तरण गर्‍यो । अहिले पनि भृकुटीमण्डपको भोगचलन समाज कल्याण परिषद्ले नै गर्दै आएको छ । प्रदर्शनी हल, स्टल, बाल उद्यान, पसल तथा संघसंस्थाको भाडाबाट मासिक करिब १३ करोड परिषद्ले उठाउँछ तर व्यवस्थापन र मर्मत सम्भारको अभावमा भृकुटीमण्डप क्षेत्र अव्यवस्थिात बन्दै गएको छ ।

प्रर्दशनी हल व्यावस्थापनको विषय हल्लामा मात्रै सीमित रहेको र यसका लागि आवश्यक कुनै पनि पहल नगरिएको व्यवसायीको गुनासो छ ।