दुर्घटना बढी हुने ठाउँहरूमा ट्रमा सेन्टर बनाउँछौँः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

आइतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरूसँग पनि छलफल भइरहेको बताएका हुन् ।

उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरूले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए। उनले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताए ।

“ऐन कानून बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ । हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरुमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ । अरू मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ । खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ”,उनले भने ।

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे । खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरू लागेको पनि बताए ।