काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् ।
मंगलवार नेपाल प्रेस युनियन संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा संसदको लेखा समितिमा छलफल भएकाले केही ढिला भएपनि चाँडै टुङ्गोे लाग्ने बताए ।
मन्त्री खड्काले व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा जसरी पनि सरकार असुल गर्ने पक्षमा रहेको उल्लेख गरे । उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिको समस्या भएकाले समस्या समाधान गर्न धेरै जटिलताहरु रहेको बताए ।
सरकार परिवर्तन हुने बित्तिकै उद्योगहरुमा लाइन काटिएको अनुभुतिका साथ उद्योगहरुमा लाइन काट्नु जायज नभएकाले जोड्न सरकारले निर्देशन दिएको उनकाे भनाइ छ ।
उनले एक्कासी उद्योगहरुमा लाइन काट्दा रोजगारी, मजदुर र उत्पादनमा समस्या हुने भएकाले सरकारले त्यो विषयमा ख्याल राख्न जरुरी रहेको बताए ।
विद्युत प्राधिकरण र मन्त्रालयबीचको सम्बन्धका विषयमा नराम्रो भास्य बनाउन हुने भन्दै प्राधिकरण मन्त्रालयको सानो निकाय भएको उनले उल्लेख गरे ।
व्यवसायीहरुले प्रयोग गरेको विद्युतको यकिन गर्ने जिम्मा प्राधिरकणको भएको भन्दै त्यहाँबाट समाधान नभए नियमन आयोगले यकिन गर्ने उनकाे भनाइ छ ।
मन्त्री खड्काले वर्तमान सरकार बनेसँगै उद्योगको लाइन जोड्नुपर्छ भनेर प्रधानमन्त्रीलाई आफँैले भनेको भन्दै प्रधानमन्त्री माथि गरिएको प्रश्न गलत हुने बताए ।
मन्त्री खड्काले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो शुरु गरिने जानकारी दिए । उनले गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि पहल गर्ने बताए ।
संखुवासभामा प्रत्येक घरले पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरेहको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्