राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

काठमाडौँमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

उनले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे । उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए । उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए ।

“राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनैपनि कम्परमाइज हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला,” उनले भने ।