सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताएका छन्

नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताए।

पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष भएको पनि भनाइ उनको छ। राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दाबी गरे।

पूर्वाधार भौतिक संरचना मात्र नभइ अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको चर्चा गर्दै उनले नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको पनि बताए।

पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैँ तयार रहेको प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ। संघीयतासँगै पूर्वाधारको आवश्यकता बढेको चर्चा गर्दै उनले तीनै तहका सरकारबीचको सहकार्य निकै बलियो भएको भन्दै आर्थिक समृद्धितर्फको साझा लक्ष्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारका पूर्वाधार आवश्यकतालाई सुव्यवस्थित बनाउन सकिने बताए।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्तालाई ह्यान्डहोल्डिङ सेवा उपलब्ध गराउन सरकार सधैँ तत्पर रहेको भनाइ उनको छ।

—न्युज एजेन्सी नेपाल