जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौँको वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् ।

सरकारले क्यान्टर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए ।

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए । उनले विरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराए ।