प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रहः आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् । उनले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गरे । उनले पाराओलम्पिकमा काँस्य पदक प्राप्त गरेको भएपनि जोगाइरहने चुनौति नेपालसँग रहेको बताए ।

“अहिले हामीसँग ठूलो चुनौतिको रूपमा छ । यो पाराओलम्पिकमा हामी काँस्य पदक प्राप्त गर्न सफल त भयौँ । तर कहिलेसम्म हामी यो कायम राख्न सक्छौँ की सक्दैनौँ ? नेपाल सरकारले खेलकुदमा सबैभन्दा कम बजेट २१ वटा मन्त्रालय भन्दा सबैभन्दा कम रहेको छ । आगामी वर्षको बजेटमा कम्तिमा १ प्रतिशत बजेट विनियोजन गरिदिन आग्रह गर्दछु,” उनले भने ।

सम्मान ग्रहण गर्दै खेलाडी गोवद्र्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताए ।