सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छः सूर्य थापा


काठमाडाैँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् ।

सोमवार समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरुसँग कुरागर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताए ।

उनले समितिमा सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गरे ।

समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेश गर्न लागेको उनले बताए । उनले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गर्नुभयो । उहाँले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गरे ।  

समितिको प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।