सर्वसाधारणका लागि खुल्यो धरहरा, रमाए नागरिक


काठमाडाैँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो ।

यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । सोही अनुसार तत्कालका लागि निःशुल्क रूपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धराहराको अवलोकन गर्न पाउनेछन् ।

तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको शहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिए । उनले धरहरा हेर्नेहरुको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताए । धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ ।

शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ । यसैबिच सर्वसाधारणले पनि धरहराको पुनर्निर्माण भएको खुशी व्यक्त गरेका छन् । उनीहरूले त्यहाँको प्रवेशका लागि सहज वातावरण निर्माण गरिदिन पनि व्यवस्थापन पक्षसँग अनुरोध गरे । धरहरा चढ्न पुगेका सर्वसाधारणले देशको गहनाको रुपमा रहेको धरहरा पुनर्निर्माणमा केही ढिलो भएको पनि प्रतिक्रिया दिए ।

२०७२ सालको विनाशकारी भूकम्पले ढलाएको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । सो धरहरा अपांगतामैत्री भएकाले उनीहरूलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी सुरू भएको थियो । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।

जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा बिस्तार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।