पस्मिना निर्यातकर्ता कम्पनी ट्राइकोट ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित


ललितपुर। ललितपुर उद्योग वाणिज्य संघले नेपालकै सबैभन्दा ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राइकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ। बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा रहेको ट्राइकोटलाई यो सम्मान प्रदान गरिएको संघले जनाएको छ।

ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनी हो। यस कम्पनीले ‘वुलन र कटन’ धागोबाट निर्माण गरिएका पस्मिना स्वेटर, सल, टोपी, मोजा लगायतका पुरुष र महिला दुवैका लागि तयार भएका कपडा निर्यात गर्दै आएको छ।

करिब २५ वर्षअघि चीन, भारत, र नेपालका व्यवसायीहरूकाे सामूहिक लगानीमा स्थापना भए पनि, कम्पनीले सन् २००५ (वि.सं. २०६२) देखि गोल्यान समूहको एकल स्वामित्वमा सञ्चालन हुँदै आएको छ। ट्राइकोटले विशेषगरी युरोपमा आफ्ना उत्पादनहरू बढी मात्रामा निर्यात गर्छ, साथै अमेरिका र भारतमा पनि निर्यात हुँदै आएको छ।

पछिल्लो ५ वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गर्दै नेपालको विदेशी मुद्रा संचितिमा ठुलो योगदान पुर्‍याएको छ। यसले नेपाली बजारमा पनि करिब १७ करोड रुपैयाँ बराबरका बुनाई कपडा बिक्री गरी उच्च गुणस्तरको माग पुरा गरेको छ।

ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानका अनुसार, कम्पनीका उत्पादनहरू विश्व प्रसिद्ध ब्राण्डहरू जस्तै कुजतेन, फिंच ह्याटन, माला अलिशा, मिन्निरोज, र रेमण्ड लगायतका ब्राण्डहरूलाई बिक्री हुँदै आएका छन्। उनले भने, “हामीले अहिले विश्वका चर्चित ब्राण्डका कम्पनीहरूलाई आफ्ना उत्पादनहरू निर्यात गर्दै आएका छौँ। इस्कच र बोसलिना ब्राण्डका कपडाहरू निर्यात गरिरहेका भए पनि यसको औपचारिक घोषणा गरेका छैनौँ।”

बिराटनगरमा अवस्थित ट्राइकोटमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रूपमा काम गर्दै आएका छन्, जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन्।