सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौँमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरूले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरूसँग कुरा गरिरहेको समेत बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरूलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताए । उनले भने, “यही दशैंको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरूमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ । त्यसले गर्दा हामीले नागरिक उडडयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरूलाई पनि हामीले अनुरोध गरेका छौं ।”

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरूको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रस्तुत समेत गरे ।

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताए ।