आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन्ः पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरूको कमी रहेको गुनासो गरेका छन् ।

मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो बताएका हुन् । नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरूको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरू रहेको र सबै सञ्चालन गर्न विमानहरूको अभाव रहेको बताए । उनले आन्तकिर ट्विनएटर विमानहरु ९\१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । उनले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताए ।

उनले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्नेगरी सरकार अघि बढिरहेको बताए । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरूसँग छलफल गरिसकेको पनि जानकारी गराए । उनले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरु नरहेको बताए ।

मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वभाविक रूपमा बार्गेनिङ हुने गरेको बताए ।