काठमाडौँ उपत्यकामा दशैँको चहलपहल घट्यो, व्यापार २५ प्रतिशतमा सिमित


काठमाडाैँ । यस वर्षको दशैँमा काठमाडौँ उपत्यकाका प्रमुख बजारहरू असन, न्युरोड, महाबौद्ध, र भोटाहिटी लगायतका क्षेत्रमा व्यापारमा उल्लेखनीय गिरावट आएको छ। व्यवसायीहरूले दशैँको समय सामान्यतया किनमेल गर्ने ग्राहकहरूको भीड हुने भए पनि यस वर्ष व्यापारमा ठूलो मन्दी आएको बताएका छन्।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालका अनुसार विगतका वर्षहरूसँग तुलना गर्दा यस वर्ष व्यापार ७५ प्रतिशतले घटेको छ। उनले मुलुकमा आर्थिक मन्दी, बाढी-पहिरो जस्ता प्राकृतिक विपत्तिहरू, र युवा जनशक्ति विदेश पलायनका कारण व्यापारमा यस्तो गिरावट आएको बताए।

व्यवसायीहरूले सरकारको नीतिगत अस्थिरता, बैंकको उच्च ब्याजदर, भन्सार दर वृद्धि, र घरभाडा वृद्धि जस्ता कारणले पनि बजारमा वस्तुको मूल्य वृद्धि भएको बताए। यसले ग्राहकहरूको क्रयशक्ति कमजोर पारेको छ। साथै, दशैँमा लगानी उठाउने र ऋण तिर्ने आशामा रहेका व्यवसायीहरू निराश बनेका छन्।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले बाढी पहिरोका कारण व्यापार शिथिल बनेको र सामान यातायातमा समस्या आएको बताए। रञ्जना महलका संयोग श्रेष्ठले यस वर्ष व्यापार केवल २० प्रतिशतमा सिमित भएको गुनासो गरे।

सिभिल व्यापार संघका अध्यक्ष रत्नबहादुर घिमिरेका अनुसार बजारमा अहिले पनि दशैँको उत्साह छैन। बाढीका कारण मुख्य सडकहरू बन्द हुँदा व्यापार व्यवसाय थप प्रभावित भएको छ।

व्यवसायीहरूका अनुसार, ७० प्रतिशत व्यापारमा गिरावट आएको छ, र यस्तो अवस्थामा सरकारले व्यापारीहरूको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

सरोजकुमार श्रेष्ठ, पूर्वअध्यक्ष, राष्ट्रिय व्यापार संघले देश आर्थिक मन्दीमा रहेको र दैनिक हजारौं युवा विदेश जाँदा व्यापारमा कमी आएको बताए।