मोबाइल खाद्य प्रयोगशाला भ्यानको प्रयोग गरी खाद्य पदार्थको अनुगमन सुरू


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज (बुधबार) देखि मोबाइल खाद्य प्रयोगशाला भ्यानको प्रयोग गरी काठमाडौँको विभिन्न स्थानहरूमा खाद्य पदार्थको स्थलगत निरीक्षण अनुगमन सुरू गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत बजारमा रहेका खाद्य पदार्थको गुणस्तर मापन गर्न मोबाइल प्रयोगशालाको पुन: सञ्चालन गरिएको हो। विभागका अनुसार विगतमा प्राविधिक समस्याका कारण लामो समयदेखि निष्क्रिय रहेका यी भ्यानहरू अब नियमित रूपमा सञ्चालन हुनेछन्।

यसै क्रममा विभागले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर, शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रा.लि., कुण्ड पानी प्रशोधन उद्योग, क्वालिटी वाटर एन्ड वरभेज प्रालि लगायतका १३ खाद्य व्यवसायहरूको निरीक्षण गरी नमूना संकलन तथा परिक्षण गरेको छ। निरीक्षणका क्रममा केही व्यवसायहरूमा खाद्य स्वच्छताको कमी भेटिएको छ। विशेष गरी हेवन टिमुर थकाली रेस्टुरेन्टमा फोहोर ड्रेनेज, अव्यवस्थित फ्रिज, र पिउने पानीमा अमोनिया देखिएपछि कारबाहीको लागि नमूना संकलन गरिएको छ।

त्यस्तै, ॐ सहयोगी नेपाल स्विट्स सेन्टरमा २० थान समोसा मसिजन्य कागजमा राखेको पाइएपछि ती खाद्य पदार्थ नष्ट गरिएको छ।

मोबाइल प्रयोगशालाले विभिन्न २२ प्रकारका खाद्य पदार्थको परीक्षण गरेको छ, जसमा दूध, तेल, घ्यू, फ्रुटजुस, टोमाटो केचप लगायतका नमूनाहरू समावेश छन्। यो अनुगमनले खाद्य पदार्थमा भएको सम्भावित हानिकारक तत्वहरूको पहिचान गर्न सहयोग पुर्‍याउने र खाद्य व्यवसायहरूको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ।