काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले देशभर परेको अत्याधिक वर्षा र बाढीले उत्पन्न गरेको संकटको बेलामा केही व्यवसायीले बजारमा गरिएको मूल्य वृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। मञ्चले जारी गरेको बिज्ञप्तिमा अहिलेसम्म २ सयभन्दा बढी नागरिकको ज्यान गएको र सयौं बेपत्ता भएको अवस्थामा समेत व्यवसायीहरूले बजारमा दादागिरी गर्दै ठगी गरेको आरोप लगाएको छ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बाढीले देशभर भौतिक पूर्वाधार ध्वस्त हुँदा पीडित नागरिकहरू कष्टकर जीवन बिताउन बाध्य भएको बताए। उनले केही व्यवसायीहरूले हवाइ भाडामा अत्याधिक वृद्धि, सवारी भाडामा मनोमानी, र खाद्यान्नमा अनुचित मूल्यवृद्धि गरेकोमा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा सरकारले यति ठूलो विपद्को समयमा पनि बजारमा आफ्नो उपस्थिति मजबुत रूपमा देखाउन नसकेकोमा गम्भीर खेद व्यक्त गरिएको छ। “यो परिस्थितिमा उपभोक्ता हितको रक्षा गर्न सरकारको दायित्व हो, तर ठगी गर्ने व्यवसायीहरूलाई कारवाही गर्न सरकारको कदम कमजोर देखिएको छ,” मञ्चले भनेको छ।
राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई तत्काल आपूर्ति प्रणाली सहज बनाउन, मूल्य नियन्त्रण गर्न, र उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्